समाचार

१५१ सिटको दाबी गर्दै सदनमा कानुन निर्माणको नेतृत्व गर्ने हरि ढकालको घोषणा

१५ फागुन, काठमाडौँ । चितवन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले आगामी निर्वाचनपछि प्रतिनिधिसभामा आफ्नो पार्टीको सिट संख्या १५१ पुर्‍याउने दाबी गरेका छन्।

शुक्रबार चितवनमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले अघिल्लो कार्यकालमा रास्वपाका २१ जना सांसद मात्र हुँदा प्रभावकारी रूपमा कानुन निर्माण गर्न कठिनाइ भएको उल्लेख गरे। अब त्यस्तो अवस्था दोहोरिन नदिने भन्दै उनले ठूलो संख्यामा प्रतिनिधित्वसहित सदनमा प्रवेश गर्ने दाबी गरे।

ढकालले २०७९ सालमा निर्वाचित भएपछि आफ्ना सांसदहरूले सदनमा सिर्जनात्मक बहस प्रस्तुत गरेको स्मरण गर्दै अब २१ होइन १५१ जनाको उपस्थितिमा थुप्रै थाती रहेका कानुन निर्माण र आवश्यक संशोधन गरिने बताए।

देशमा समृद्धिका भाषण धेरै भए पनि त्यसको प्रत्यक्ष प्रभाव किसानको जीवनमा नपरेको उनको भनाइ थियो। किसानको मुहारमा हाँसो ल्याउन सके मात्र वास्तविक समृद्धि सम्भव हुने उनले उल्लेख गरे।

भ्यू टावर निर्माणले मात्रै विकास नआउने भन्दै उनले युवाहरूलाई घोषणा गरिएका पुरस्कारसमेत नदिएको विषयमा आफूहरूले सदनमा आवाज उठाउनुपरेको बताए।

ढकालको यो अभिव्यक्तिले चुनावी माहोलमा रास्वपाको लक्ष्य र रणनीतिबारे स्पष्ट संकेत दिएको छ।