२० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो। गाडीभित्र केही शंकास्पद वस्तु फेला परेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ भने घटनाबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ।
यसैबीच, प्रतिनिधिसभा निर्वाचनकै सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपाल का सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। मौन अवधिका बेला नगदसहित भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू नै पक्राउ पर्न थालेपछि सुरक्षा व्यवस्थामाथि चासो बढेको छ।





