२६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिग सुरु गर्ने विषयमा सहमति भएको छ। मंगलबार भएको छलफलपछि लिगको उद्घाटन खेल चैत ३० गते गर्ने निर्णय भएको हो।
पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडी संघले उठाएका विभिन्न मागहरूमा पनि सहमति भएको जानकारी दिए। सहमतिसँगै खेलाडी संघले एन्फा मुख्यालयमा लगाएको ताला समेत खोलिएको छ। यसअघि आइतबार खेलाडी संघले आफ्ना माग पूरा गराउन दबाब दिन एन्फा कार्यालयमा तालाबन्दी गरेको थियो।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फाले लिग आयोजना गर्ने स्पष्ट निर्णय गरेको बताए। उनले यसअघि लिग गर्ने भनिए पनि मिति तय नभएकाले आन्दोलन गर्नुपरेको उल्लेख गरे।
एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रका अनुसार चैत ३० गते उद्घाटन खेल हुनेछ भने त्यसपछि वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सञ्चालन गरिने तयारी गरिएको छ। राष्ट्रिय लिगको तालिका परिमार्जन गरेर ए डिभिजन लिगका लागि समय मिलाइने पनि उनले जानकारी दिए।
नेपालमा पछिल्लो पटक ए डिभिजन लिग विसं २०७९ मा भएको थियो। त्यसयता नयाँ सिजन सुरु हुन नसक्दा लिग नखेलिएको अवधि १००० दिनभन्दा बढी भइसकेको छ।
ए डिभिजनमा थ्री स्टार क्लब र एपीएफ क्लबमध्ये कुन क्लब रहने भन्ने विषय आधिकारिक निर्णय आएपछि मात्र टुंगो लाग्ने एन्फाले जनाएको छ।
बैठकमा खेलाडी संघका अध्यक्ष विक्रम लामासहित खेलाडीहरू बिकेश कुथु, रोहित चन्द, विराज महर्जन र अन्जन विष्ट सहभागी थिए। एन्फातर्फबाट महासचिव किरण राई लगायत पदाधिकारी उपस्थित थिए।





