२८ फागुन, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। यस दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२० अंकमा पुगेको छ। बजारसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज कुल १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ। ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
समूहगत सूचकमा अधिकांश समूहमा वृद्धि देखिएको छ। विकास बैंक १.२८ प्रतिशत, फाइनान्स १.३० प्रतिशत, हाइड्रोपावर १.१० प्रतिशत, लगानी १.१४ प्रतिशत, जीवन बीमा ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत, माइक्रोफाइनान्स ०.२७ प्रतिशत र व्यापार समूह ०.१४ प्रतिशतले बढेका छन्।
यता निर्जीवन बीमा ०.०४ प्रतिशत, अन्य समूह ०.७४ प्रतिशत र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशतले भने गिरावट देखाएका छन्।
आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरूमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्। होटल फरेस्ट इनको सेयर आजैबाट कारोबारमा आएको हो।
यसैगरी दरामखोला हाइड्रोपावरको सेयर मूल्य ९.४६ प्रतिशतले बढ्दा हिमाल दोलखा हाइड्रोपावर ७.१४ प्रतिशतले उकालो लागेको छ।
यता त्रिशुली जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै ३.१४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।





