आर्थिक

भोलिदेखि आधा सिलिन्डर ग्यास बजारमा, उपभोक्ताले ७.१ केजी मात्रै पाउने

२८ फागुन, काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको ग्यास अभावलाई सहज बनाउन भोलि शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्रै वितरण गर्ने निर्णय गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न सक्नेछन्। आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको मूल्यको आधा नै निर्धारण गरिएको छ।

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यासको माग बढेको छ भने आपूर्तिमा केही समस्या देखिएको छ। सोही अवस्थालाई सामान्य बनाउन निगमले यस्तो निर्णय गरेको उनले बताए।

भट्टका अनुसार आधा सिलिन्डर वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्तासम्म ग्यास पुर्‍याउन सकिनेछ। “पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउन सक्छन्,” उनले बताए।

यसका साथै आधा सिलिन्डर वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ। “आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै आवश्यकता परेको छ उसले मात्रै किन्छ,” भट्टले बताए।

निगमले यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने विश्वास व्यक्त गरेको छ।