समाचार

इरानी नागरिकलाई नेपालमा ‘अन अराइभल भिसा’ रोक

काठमाडौं, २९ फागुन । नेपाल सरकारले इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ सुविधा नदिने निर्णय गरेको छ। अध्यागमन विभागका अनुसार अब इरानी नागरिकहरूले नेपाल भ्रमण गर्नुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्नुपर्नेछ।

विभागले जनाएअनुसार सरकारी तथा कूटनीतिक राहदानी बाहेकका इरानी नागरिकलाई विमानस्थल वा सीमा नाकामा पुगेर भिसा लिने ‘अन अराइभल’ सुविधा उपलब्ध हुने छैन।

यस निर्णयसँगै नेपालले ‘अन अराइभल भिसा’ सुविधा नदिने मुलुकको संख्या १३ पुगेको छ। यसअघि नै नाइजेरिया, घाना, जिम्बाब्वे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले अन अराइभल भिसा सुविधा प्रदान नगर्ने व्यवस्था गरेको थियो।

अध्यागमन विभागका अनुसार शरणार्थी हैसियतमा रहेका व्यक्तिहरूले समेत नेपाल आउनुअघि अनिवार्य रूपमा भिसा लिएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था लागू छ।

सरकारले सुरक्षा तथा अध्यागमन व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ।