३० फागुन, काठमाडौँ । प्रतिनिधिसभा को चुनावमा लज्जास्पद हार बेहोरेको नेकपा एमालेभित्र गृहयुद्ध सुरु भएको छ । पार्टीका वरिष्ठ नेताहरु एक अर्काप्रति टिका-टिप्पणी तथा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले आफू निर्वाचनभर जिम्मेवारीविहीन भएको अभिव्यक्तिको महासचिव शंकर पोखरेलले खण्डन गरेका छन् ।
आज फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले भट्टराईले जिम्मेवारी माग्दा विभिन्न स्थानमा वक्ताका रुपमा जान र आफ्नो निर्वाचन क्षेत्र दाङमा आउन भनेको उल्लेख गर्दै खण्डण गरेका हुन् ।
उपमहाचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए। महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन्।
योगेशको भनाइको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्ने भन्दै उनले भ्रम नपरोस भनेर मात्र आफूले स्पष्ट पारेको बताएका छन्।






