राजनीति

३० बढी नेताले सभापति थापालाई भेटेर भने : देश र पार्टी संकटमा छ राजिनामा नदिनु

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका ३० बढी नेताहरुले सभापति गगन कुमार थापालाई पदबाट राजिनामा नदिन सुझाव दिएका छन् ।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा आज सभापतिलाई भेट्न गएका नेताहरूले थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् । आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए ।

निर्वाचनमा हारजित स्वाभाविक भएको र मतदाताले झुक्किएर मत र मन परिवर्तन गर्नुलाई अन्यथा लिन नहुने उनीहरूको भनाइ छ ।

सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, बिष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जन केन्द्रीय सदस्यहरू गएका उनले बताए ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा राम्रो परिणाम नआएपछि कांग्रेसमा सभापति थापाले राजीनामा दिनुपर्छ भन्नेहरु पनि रहेका बेला यस्तो आग्रह गरेका हुन् ।

सभापति थापाले पनि केही दिनअघि मात्रै उपसभापति विश्वप्रकाश शर्मासँग भेटेर आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।