समाचार

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिक फ्लड लाइट जडान

३० फागुन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल आसपासको जोखिमयुक्त क्षेत्रमा फ्लड लाइट जडान गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार उक्त स्थानमा दुई वटा फ्लड लाइट राखिएको हो।

सडक डिभिजन भरतपुरका सब–इन्जिनियर हरि कुमार श्रेष्ठका अनुसार सो क्षेत्रमा जुनसुकै समयमा ढुंगा खस्ने सम्भावना रहने भएकाले रातको समयमा पनि स्पष्ट देखिने व्यवस्था गर्न फ्लड लाइट जडान गरिएको हो। यसले रात्रीकालीन यात्रालाई केही हदसम्म सुरक्षित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

श्रेष्ठले चालकहरूलाई विशेष सावधानी अपनाउन, ओभरटेक नगर्न र संयमित ढंगले सवारी साधन चलाउन आग्रह गरेका छन्।

यसअघि शुक्रबार राति काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको एक नाइट बसको क्याबिनमा अचानक ढुंगा खसेको थियो। चालकको सतर्कताका कारण ठूलो दुर्घटना भने टरेको थियो। उक्त घटना बसमा जडान गरिएको सीसीटीभी क्यामरामा कैद भएको थियो।

बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा भएको उक्त घटनाका समयमा बसमा ४३ जना यात्रु सवार थिए।

गत वर्षायाममा पनि तुइन खोला क्षेत्रमा पटक–पटक पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुने समस्या देखिएको थियो।