४ चैत, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई जनतासँग नजिक रहने व्यवहार अपनाउन आग्रह गरेको छ।
ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति लामिछानेले सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन सुझाव दिए। आकस्मिक अवस्था बाहेक सार्वजनिक स्वास्थ्य संस्थामै सेवा लिन उनले जोड दिए। उनका अनुसार यसले सरकारी अस्पतालहरूको सेवा सुधारमा प्रत्यक्ष प्रभाव पार्नेछ।
“सक्नुहुन्छ भने सरकारी अस्पतालमै उपचार गराउनुस्, सेवालाई चुस्त बनाउनुस्,” भन्दै उनले यो बाध्यकारी नभए पनि व्यवहारिक रूपमा अपनाउनुपर्ने सुझाव रहेको स्पष्ट पारे।
कार्यक्रममा उनले पार्टी छोटो समयमै विस्तार भएको उल्लेख गर्दै विभिन्न पृष्ठभूमिका व्यक्तिहरू रास्वपामा आवद्ध भएको बताए। स्थापना भएको चार वर्ष नपुग्दै पार्टीले ठूलो जनसमर्थन प्राप्त गरेको भन्दै उनले त्यसअनुसार जिम्मेवारी वहन गर्न सांसदहरूलाई सचेत गराए।
लामिछानेले पार्टीभित्र फरक–फरक छवि र अनुभव भएका व्यक्तिहरू भए पनि सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। उनले बहुमतको गणितमा अल्झिनु भन्दा जनताको अपेक्षा पूरा गर्ने काममा केन्द्रित हुन आग्रह गरे।





