पर्यटन/संस्कृति

पर्यटन विभागको तथ्यांक: ३४९ होटल/रिसोर्ट दर्ता, पाँचतारे २८

१० चैत, काठमाडौं । नेपालमा संघीय निकाय पर्यटन विभाग अन्तर्गत दर्ता भएका होटल तथा रिसोर्टको संख्या ३ सय ४९ पुगेको छ। विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार यी होटल/रिसोर्टमा कुल १६,३५० कोठा र २५,८८१ शय्या उपलब्ध छन्, जसले प्रतिरात २५,८८१ पर्यटकलाई धान्न सक्ने क्षमता राख्छ।

होटलको स्तरअनुसार विवरण हेर्दा पाँचतारे होटल २८ छन्, जसमा ३,६२४ कोठा र ५,३४० शय्या छन्। चारतारे होटल ४० रहेको विभागको तथ्यांक छ, जसमा २,८६४ कोठा र ४,३१५ शय्या छन्। तीनतारे होटल ३७ छन्, दुईतारे ४९ र एकतारे ४४ रहेका छन्।

विशेष स्तरका होटलमध्ये पाँचतारे डिलक्स ३ वटा, लक्जरी बुटिक/हेरिटेज पाँचतारे ३ वटा, डिलक्स/हेरिटेज चारतारे ५ वटा र नर्मल हेरिटेज तीनतारे १ वटा रहेका छन्।

रिसोर्टको वर्गीकरणअनुसार साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट ९ र लक्जरी रिसोर्ट ३ रहेका छन्। साधारण रिसोर्टमा २,८१२ कोठा र ४,७४८ शय्या, डिलक्स रिसोर्टमा ४५२ कोठा र ६६३ शय्या, लक्जरी रिसोर्टमा २४६ कोठा र ३९८ शय्या छन्।

पर्यटन विभागले अहिले २०७६ सालको होटल वर्गीकरण मापदण्डलाई समयानुकूल सुधार गर्दै नयाँ मापदण्ड बनाउने तयारी गरिरहेको छ। यस अन्तर्गत भौतिक पूर्वाधार, सेवा गुणस्तर, ग्रिन हस्पिटालिटी र दिगो विकासका आवश्यक सूचकहरूलाई ध्यानमा राखेर सुझाव मागिएको छ।

विभागका अनुसार, बढ्दो पर्यावरणीय सचेतना र विश्व पर्यटन बजारको मागलाई मध्यनजर गर्दै नयाँ मापदण्ड निर्माण गरिनेछ, जसले नेपालका होटल तथा रिसोर्टको स्तरलाई अझ व्यवस्थित र दिगो बनाउने उद्देश्य राख्दछ।