१३ चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीमा नियुक्त भएका बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जालमाफर्त उनले सुशासनको मागसहित जेन–जी पुस्ताले शुरू गरेको आन्दोलनको जगबाट प्राप्त जनादेशका आधारमा गठन भएको सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाई थप नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, र पूर्वाधार विकासलाई सुदृढ गर्ने अपेक्षा गरिएको बताए ।
सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नेपाल निर्माणमा यो सरकार सफल होस् भन्ने शुभकामना समेत घिसिङले व्यक्त गरेका छन् ।
साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्ने उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको समेत बताएका छन्।






