खेलकुद

चार पटकको विश्वकप विजेता इटाली लगातार तेस्रो पटक छनोट हुन असफल

१८ चैत, एजेन्सी । इटाली तेस्रो पटक लगातार विश्वकपमा छनोट हुन असफल भएको छ।

बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४–१ ले पराजित भएसँगै इटालीको यसपटकको विश्वकपमा सपना टुंगिएको छ। निर्धारित समय र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएको थियो।

जेनिका शहरमा भएको खेलको १५औं मिनेटमा इटालीले अग्रता लियो। बोस्नियाका गोलरक्षक निकोला भासिल्जको गल्तीपूर्ण पासलाई निकोलो बारेल्लाले नियन्त्रण गर्दै मोइस किनलाई दिए। किनले प्रहार गर्दै इटालीलाई अघि बढाए।

तर पहिलो हाफको ४१औं मिनेटमा इटालीलाई ठूलो झट्का लाग्यो। डिफेन्डर अलेसान्द्रो बास्टोनीले अन्तिम खेलाडीका रूपमा अमार मेमिकलाई रोक्ने क्रममा फाउल गरेपछि रेफ्री क्लेमेन्ट टुर्पिनले सिधै रातो कार्ड देखाए। इटाली १० खेलाडीमा सीमित भयो।

त्यसपछि बोस्नियाले लगातार दबाब बढायो। दोस्रो हाफभरि एरमेदिन डेमिरोभिच, केरिम अलाजबेगोभिच र एडिन जेकोले अवसर सिर्जना गरे भने इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले केही उत्कृष्ट बचाउ गरे।

७९औं मिनेटमा बोस्नियाले बराबरी गोल गर्‍यो। एडिन जेकोको हेडरलाई डोनारुम्माले रोके पनि रिबाउन्डमा हारिस टाबाकोभिचले नजिकैबाट गोल गर्दै खेल १(१ बनाए।

अतिरिक्त समयमा पनि दुवै टोलीले निर्णायक गोल गर्न सकेनन्। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो। बोस्नियाका चारै खेलाडीले पेनाल्टी गोल गरे।

तर इटालीका फ्रान्चेस्को पियो एस्पोसितोको प्रहार बारभन्दा माथि गयो भने ब्रायन क्रिस्टान्टेको प्रहार क्रसबारमा लाग्यो। अन्तिम पेनाल्टी इस्मिर बाजराक्टारेभिचले गोल गर्दै बोस्नियालाई विश्वकपमा पुर्‍याए।

योसँगै चार पटकको विश्वकप विजेता इटाली लगातार तेस्रो संस्करणको विश्वकपमा छनोट हुन असफल भएको छ।