समाचार

हर्क साम्पाङ भन्छन् : ज्यान मार्ने धम्की दिनेविरुद्ध आज पनि एउटा उजुरी पर्छ

१८ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले आज पनि एक जनाविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइने बताएका छन्।

यसअघि सोमबार मात्र उनले सुनिता खड्का नामको टिकटक आईडीबाट आफ्नो हत्या गर्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

साम्पाङले बुधबार बिहान सामाजिक सञ्जालमार्फत फेरि आज त्यस्तै प्रकृतिको उजुरी दिइने जानकारी दिएका हुन्।

‘सरकारलाई बेलगाम घोडा बनेर जथाभावी कुद्न नदिने प्रतिपक्ष हो- हर्क साम्पाङ र उसको पार्टी श्रम संस्कृति। यो कुरा हेक्का राख’, उनले लेखेका छन्, ‘गालीगलौज गर्नेलाई माफी नै छ। तर ज्यानमार्ने र घर जलाउने धम्की दिनेहरूविरुद्ध सीआईबीमा रिपोर्ट गर्नेछु। आज नि एउटा पर्छ।’

तर उनले कोविरुद्ध भन्ने कुरा खुलाएका छैनन्। उनले सीआईबी भनेर लेखे पनि सामाजिक सञ्जालसम्बन्धी उजुरी दिने स्थान साइबर ब्युरो हो।