१८ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै पार्टी निकट विद्यार्थी तथा युवाहरूले राजधानीमा प्रदर्शन गरेका छन्।
अनेरास्ववियुसँग आवद्ध विद्यार्थीहरू अस्कल क्याम्पसबाट निस्केर सडक प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले पोखरेलको राजीनामा माग्दै नारा लगाएका थिए भने सुहाङ नेम्वाङको पक्षमा पनि आवाज उठाइएको थियो।
एमाले संसदीय दलको नेताका आकांक्षी रहेका नेम्वाङलाई पाखा लगाएर रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन महासचिव पोखरेलले दबाब दिएको आरोप युवाहरूले लगाएका छन्। यही विषयलाई लिएर केही दिनयता सामाजिक सञ्जालमा पनि विरोध अभियान चलिरहेको थियो।
बुधबार राति उक्त अभियान सडक प्रदर्शनमा परिणत भएको हो। प्रदर्शनकारीहरूले पार्टीभित्र युवाहरूलाई अवसर दिनुपर्ने, नेतृत्वमा एकाधिकार अन्त्य गर्नुपर्ने र महासचिव पदबाट पोखरेलले राजीनामा दिनुपर्ने माग राखेका छन्।
प्रदर्शनका क्रममा युवाहरूले पार्टी केन्द्रीय कार्यालय अगाडि पोखरेलको पुत्ला दहन समेत गरेका थिए। पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा सडकमा देखिन थालेपछि एमालेभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।





