१९ चैत, काठमाडौं । देशमा भइरहेको राजश्व चुहावट नियन्त्रण गर्न र राजश्व प्रशासनलाई थप प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल हुँदै छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा राजश्व छली र चोरी पैठारी नियन्त्रणका लागि चालिनुपर्ने कदमहरूका बारेमा गहन छलफल गर्ने भएका छन् ।
बिहान ११ बजेदेखि सुरु हुने यस महत्त्वपूर्ण बैठकमा गृह प्रशासन र सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत उपस्थिति रहने अर्थ मन्त्रालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, अर्थ र गृह मन्त्रालयका सचिवहरूका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको सहभागिता हुने छन् ।
यसका अतिरिक्त राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरूले पनि बैठकमा भाग लिने कार्यतालिका रहेको छ।
मुख्य एजेन्डा राजश्व छली र सामानको अवैध ओसारपसार (चोरी पैठारी) नियन्त्रण गर्नु रहेको छ । सो अवसरमा अर्थमन्त्री डा.वाग्लेले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन गर्न र राजश्व चुहावट रोक्न सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिने मन्त्रालयले जानकारी दिएको छ ।
बैठकमा भएका निर्णयहरू र छलफलका निष्कर्षका बारेमा मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भिडियो, फोन वा औपचारिक प्रेस विज्ञप्तिमार्फत सञ्चार माध्यमहरूलाई थप जानकारी गराउने छन् ।
सरकारले पछिल्लो समय राजश्व प्रशासनमा सुधार ल्याउन र अवैध व्यापारिक गतिविधि रोक्न यस्ता उच्चस्तरीय समन्वयलाई तीव्रता दिएको छ ।





