समाचार

प्रमाण नपुग्दा ‘बालबालिका दास बनाएको’ आरोपमा पक्राउ परेकी रेखा शर्मा रिहा

२२ चैत, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी रेखा कुमारी शर्मालाई प्रमाण अभावका आधारमा हिरासतबाट मुक्त गर्न आदेश दिएको छ।

माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले म्याद थपका लागि दोस्रो पटक उपस्थित गराइएकी शर्माको पक्षमा प्रस्तुत बहस तथा मिसिल संलग्न कागजातहरूको अध्ययनपछि यस्तो आदेश दिएको हो।

अदालतले पीडित बालबालिकाको पढाइ निरन्तर रहेको र प्रतिवादीले संरक्षकको भूमिका निर्वाह गर्दै आएको देखिएको उल्लेख गरेको छ। साथै, शर्माले बालबालिकालाई यातना दिई दास बनाएको भन्ने आरोप पुष्टि गर्ने ठोस र निश्चयात्मक प्रमाण मिसिलमा संलग्न नरहेको निष्कर्ष निकालिएको छ।

यसअघि जिल्ला सरकारी वकील कार्यालय काठमाडौं र उच्च सरकारी वकील कार्यालय पाटनले पनि शर्माविरुद्ध ‘दास बनाउन नहुने’ कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए। सो निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरेको थियो।

अदालतले सोही आधारलाई स्वीकार गर्दै शर्मालाई थुनामा राखेर मुद्दा अघि बढाउनुपर्ने अवस्था नदेखिएको ठहर गरेको छ। त्यसैले उनलाई हिरासतबाट मुक्त गरी अनुसन्धान प्रक्रिया जारी राख्न आदेश दिइएको छ।

यस आदेशसँगै लामो समयदेखि विवादमा रहेको उक्त प्रकरणमा नयाँ मोड आएको छ।