अपराध

महिलालाई लोभमा पारी सम्पत्ति जफत गर्ने एक व्यक्ति पक्राउ

२६ चैत, काठमाडौं। महिलालाई प्रलोभनमा पारेर उनीहरूको सम्पत्ति जफत गर्ने आरोपमा काभ्रेपलाञ्चोकका उमेश सापकोटा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई आज पक्राउ गरेको हो।

उमेश सापकोटामाथि जबरजस्ती करणको उजुरी दर्ता भएको थियो। दाङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ पँलासेबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङ पठाइएको छ।

प्रहरी अनुसन्धान अनुसार, सापकोटाले सम्बन्ध विच्छेद भएका महिलालाई विश्वासमा पारी उनीहरूको नाममा रहेको अचल सम्पत्ति बैंकमा धितो राखेर पैसा निकाल्ने गरेको खुलाएको छ। उनी आफूलाई जग्गासम्बन्धी व्यापारीको रूपमा प्रस्तुत गरी नजिक भएका महिलाहरूको चल-अचल सम्पत्तिको फाइदा उठाउने प्रयास गरेको पनि प्रहरीले जनाएको छ।

पक्राउ परेका उमेश सापकोटा ४० वर्षीय हुन् र उनका विरुद्ध थप अनुसन्धान जारी रहेको छ।