समाचार

२२९ मतसहित उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

२७ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा उनी राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै उपसभामुख बनेकी हुन्। सभामुख डीपी अर्यालले सदनमा उनको विजय घोषणा गरेका थिए।

निर्वाचनमा कुल २५६ सांसद उपस्थित थिए। तीमध्ये २२९ सांसदले रुबीकुमारीको पक्षमा मतदान गरे भने ५ जनाले विपक्षमा मतदान गरे। २२ सांसद तटस्थ बसेका थिए।

रुबीकुमारीलाई उनको दल श्रम संस्कृति पार्टीसँगै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी को समर्थन रहेको थियो।

राप्रपाले भने उपसभामुख पदमा एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमाले ले मतदान प्रक्रियामा भाग लिएन।

भारी बहुमतसहित विजयी भएकी ठाकुरले उपसभामुख पद सम्हालेसँगै प्रतिनिधिसभामा नयाँ राजनीतिक समीकरण देखिएको छ।