राजनीति

रवि-बालेन एकतामा दरार आउन सक्छ : अमेरिकी रिपोर्ट

१ बैशाख काठमाडौं । एक अमेरिकी अध्ययनले प्रधानमन्त्री बालेन्द शाह बालेन र रास्वपाका सभापति रबि लामिछानेबीचको एकतामा दरार आउन सक्के आँकलन गरेको छ ।

अमेरिकी कांग्रेस अनुसन्धान सेवा (सीआरएस) ले तयार पारेको प्रतिवेदनमा रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भविष्यमा मतभेद उत्पन्न हुन सक्ने सम्भावनालाई प्रमुख राजनीतिक चुनौतीका रूपमा उल्लेख गरिएको छ ।

यद्यपि प्रतिवेदनले तत्काल कुनै प्रत्यक्ष विवाद वा संकट रहेको उल्लेख गरेको छैन । तर पार्टीको संरचना, नेतृत्व शैली र निर्णय प्रक्रियामा देखिने मतभिन्नताका कारण दीर्घकालीन रूपमा असन्तुलन आउन सक्ने संकेत गरेको छ ।

प्रतिवेदनले रास्वपालाई अम्ब्रेला अर्गनाइजेसन अर्थात् विभिन्न असन्तुष्ट समूहहरूको साझा प्लेटफर्मका रूपमा व्याख्या गरेको छ । रवि लामिछानेको नेतृत्वमा पार्टीले सुशासन, भ्रष्टाचारविरुद्ध अभियान र प्रणालीगत सुधारुलाई मुख्य एजेन्डा बनाएको देखिएको तर पार्टीभित्र विचार, रणनीति र नेतृत्वको शैलीमा एकरूपता अझै स्थापित भइनसकेको विषय प्रतिवेदनमा उल्लेख छ ।

रिपोर्टले बालेन र रविबीच स्पष्ट रूपमा अहिले कुनै ठूलो विवाद नभएको उल्लेख गरे पनि केही संरचनागत कारणले भविष्यमा तनाव आउन सक्ने संकेत गरेको हो । बालेन व्यक्तिगत लोकप्रियता र स्वतन्त्र छविका नेता भएको तर रास्वपा संस्थागत पार्टी संरचना निर्माणमा केन्द्रित देखिएकोले एकतामा दरार आउन सक्ने सम्भावना देखिएको रिपोर्टमा उल्लेख छ ।

यसैगरी बालेनको सञ्चार शैली प्रत्यक्ष र सामाजिक सञ्जाल-केन्द्रित रहेको तर पार्टीले औपचारिक संरचनामार्फत नीति निर्माण गर्ने प्रयास गरिरहेको विषयले पनि भविष्यमा समस्या आउनसक्ने सम्भावना देखिएको रिपोर्टमा भनिएको छ ।

नेपालमा २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले पुराना राजनीतिक शक्तिलाई निकै कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ । तत्कालीन सरकारले सामाजिक सञ्जाल नियमन गर्न २६ वटा प्लेटफर्महरू बन्द गरेपछि युवाहरूको असन्तुष्टि विस्फोट भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको थियो ।उनकै नेतृत्वमा २१ फागुनमा भएको निर्वाचनबाट रास्वपा झण्डै दुईतिहाइ बहुमत (२७५ मा १८२ सिट) सहित पहिलो दल बनेको हो ।

नेपाली कांग्रेसले ३८, एमालेले २५ र नेकपाले १७ सिट मात्र प्राप्त गरेका छन् । यसलाई विश्लेषकहरूले लामो समय सत्तामा रहेका परम्परागत राजनीतिक शक्तिहरूको पतनसँगै नयाँ राजनीतिक युग सुरु भएको रूपमा हेरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले ३६ वर्षका प्रधानमन्त्री बालेनलाई परम्परागत सत्ताविरोधी नेताका रूपमा उल्लेख गरेको छ । साथै उनको शासन शैली मिश्रित रहेको टिप्पणी गरेको छ । रिपोर्टले बालेनलाई सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने र आमसञ्चार माध्यमलाई प्राथमिकता नदिने नेताका रूपमा चित्रित गरेको छ । बालेनको लोकप्रियता युवामाझ उच्च भए पनि नीतिगत स्पष्टता र शासन अनुभवबारे प्रश्न उठ्ने गरेको प्रतिवेदनमा लेखिएको छ ।