१० वैशाख, काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले सरकारले बल प्रयोग गरेर बस्ती हटाउन खोजे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
बिहीबार शंखमुलस्थित कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारको सम्भावित निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो। मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सञ्चारमाध्यममा बस्ती हटाउने तयारीबारे समाचार आएपछि आकस्मिक रूपमा बैठक बसेको थियो।
उनले बैठकमा सरकारको निर्णय आधिकारिक हो कि होइन भन्ने विषयमा छलफल भएको र यदि बल प्रयोग गरी बस्ती हटाउने प्रयास गरिए प्रतिरक्षाका लागि जे पनि गर्न तयार रहने निष्कर्ष निकालिएको बताए। “यदि बलपूर्वक हटाउने काम भयो भने हामी जसरी पनि प्रतिरोध गर्छौं,” गुरुङले भने।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका छन्। यस विषयमा सरकार र सुकुमवासी पक्षबीच तनाव बढ्ने संकेत देखिएको छ।





