समाचार

अब छुट्टिन्छन् सुकुमवासी र अतिक्रमणकारी, प्रधानमन्त्रीले दिए स्पष्ट जवाफ

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर रहेका वास्तविक सुकुमवासी र अतिक्रमणकारीलाई छुट्याउने स्पष्ट नीति सरकारको रहेको बताएका छन्। काठमाडौंका विभिन्न नदीकिनारका बस्ती खाली गराउने तयारी भइरहेका बेला उनले यस विषयमा उठेका प्रश्नहरूको जवाफ दिएका हुन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले वर्षौंदेखि जटिल बनेको सुकुमवासी समस्या अब स्थायी रूपमा समाधान गर्ने सरकारको योजना रहेको बताए।

उनका अनुसार काठमाडौंका खोला किनारमा बस्ने धेरै परिवारहरू हरेक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन्। बाढीका कारण ज्यान जोगाउन सबै सामान छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उनले यसलाई अब टार्न नसकिने समस्या भएको बताए।

“दुर्घटना आउनुभन्दा अघि नै समाधान खोज्नुपर्छ,” भन्दै उनले सुरक्षित बसोबासको व्यवस्था गर्न सरकार अग्रसर भएको स्पष्ट पारे।

यसैबीच बस्ती हटाउने निर्णयको विरोधमा सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन्, जसले यो विषयलाई अझ संवेदनशील बनाएको छ।