समाचार

थापाथली बस्ती हटाउने क्रममा महिला बेहोस

१८ वैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्।

प्रहरीका अनुसार बस्ती खाली गराउने कार्य चलिरहेका बेला ती महिला अचानक बेहोस भएपछि एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण खुलाइएको छैन।

यसैबीच, बल्खुमा खाली गरिएको सुकुमवासी बस्ती नजिकै बागमती नदीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार बिहान घर भत्काइएको अवस्था हेर्न नसक्ने भन्दै घरबाट निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो नदीमा मृत अवस्थामा भेटिएका हुन्।

उनको पहिचान उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बस्ती हटाउने क्रममा भएका यी घटनाहरूले विस्थापनसँग जोडिएका मानवीय चुनौतीहरूलाई थप गम्भीर बनाएको छ।