राजनीति

‘रूख छाडेर अन्त भोट हाल्नेलाई छुट छैन’ : असहयोगी नेतामाथि गगनको कडा चेतावनी

२६ वैशाख, धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले कांग्रेसका नेता तथा क्रियाशील सदस्यले पार्टीको चुनाव चिन्ह ‘रूख’ बाहेक अन्य चिन्हमा मतदान गर्न नपाइने स्पष्ट पारेका छन् ।

धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले पार्टीको आधिकारिक सदस्य भएर चुनावमा अर्को चिन्हमा मतदान गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन् । उनले आफू कांग्रेसको संस्कारमै हुर्किएको भन्दै कांग्रेसको मान्छेले चुनावको दिनमा रूखबाहेक अरू चिन्ह सोच्नसमेत नसक्ने बताए ।

सभापति थापाले पार्टीभित्र बसेर उम्मेदवारलाई असहयोग गर्ने नेतामाथि पनि कडा कदम चालिने चेतावनी दिए । उनले २१ फागुनको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने जिम्मेवार नेताहरूलाई केही समयका लागि जिम्मेवारीबाट बाहिर राखिने बताए ।

उनले यस विषयमा कुनै सम्झौता वा अपवाद नहुने स्पष्ट गर्दै पार्टी अनुशासनलाई कडाइका साथ लागू गरिने संकेत गरेका छन् ।