३० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको विस्तारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
उनले वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमितिको मनोनयनका सम्बन्धमा आफूसँग कुनै छलफल वा परामर्श नभएको र यसले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन्।
खड्काले एक वक्तव्य जारी गर्दै पार्टीभित्र देखिएको भ्रम र जिज्ञासा तथा यसमा आफ्नो भूमिकाबारे उठाइएका प्रश्नहरूप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले केही हप्ताअघि गगन थापासँग एक्लै र केही दिनअघि गगन थापा र विश्वप्रकाश शर्मासँग सामूहिक भेटघाट तथा छलफल भएको स्मरण गराएका छन्।
ती छलफलहरूमा उनले देशको राष्ट्रियता ठूलो जोखिममा रहेको, नेपाली कांग्रेस स्थापनाकालदेखि नै अप्ठ्यारो परिस्थितिमा उभिएको र पपुलिज्मका नाममा संविधानवाद तथा लोकतन्त्रका आधारस्तम्भहरूमा निरन्तर आक्रमण भइरहेको लगायतका विषयमा आफ्ना धारणा राखेको उल्लेख गरेका छन्।
खड्काले नेपाली कांग्रेसको बृहत् र सम्पूर्ण एकता नभई राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न नसकिनेमा आफू प्रष्ट रहेको बताएका छन्।
उनले पार्टी एकताको मुख्य जिम्मेवारी गगन थापा र त्यसपछि विश्वप्रकाश शर्माको काँधमा रहेको र आफूहरूको सहयोगी भूमिका रहने स्पष्ट पारेका छन्।
उनले समय कम रहेको भन्दै अन्य सबै कुराभन्दा सर्वाधिक प्राथमिकतामा राखेर पार्टीलाई सम्पूर्ण रूपमा एक बनाउने अभियानमा लाग्न अनुरोध गरेको पनि जनाएका छन्।
निवर्तमान कार्यवाहक सभापति खड्काले वैशाख २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने उद्देश्यमा ठेस पुगेको आफ्नो प्रष्ट मत रहेको दोहोर्याएका छन्।
उनले विभाजित कांग्रेसले विगतमा ठूलो हण्डर खानुका साथै आम नागरिकको भरोसा र विश्वास गुमाएको अनुभव सुनाएका छन्।
यसबाट पाठ सिक्दै जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवै पक्षका सबैले आत्मसमीक्षा गरी पार्टीलाई संगठनात्मक र भावनात्मक रूपमा एक गराएर अगाडि बढेको इतिहासको अनुभव आफूहरूसँग रहेको बताएका छन्।
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा प्राप्त परिणामले पार्टीलाई झस्काएको मात्र नभई ठूलो क्षति समेत बेहोर्नु परेको उल्लेख गर्दै खड्काले यसबाट सबक सिक्दै नयाँ सोच, दृष्टिकोण र साझा भावधारासहित सम्पूर्ण एकताका साथ अगाडि बढ्न प्रेरणा लिनुपर्ने संगीन घडीमा पार्टी उभिएको बताएका छन्।
उनले अझै पनि पार्टीको निर्णायक भूमिकामा रहेका साथीहरू पार्टीको बृहत् र सम्पूर्ण एकता गरी सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्ने दिशामा अग्रसर हुनेछन् भन्ने आशा व्यक्त गरेका छन् ।








