राजनीति

प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको अवरोध, प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिसहित सदनमा जवाफ माग गर्दै विरोध जनाएपछि बैठक प्रभावित बनेको हो ।

विपक्षीको अवरोध जारी रहेपछि सभामुख डीपी अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । यसअघि बसेको पहिलो बैठक पनि सोही विषयमा विपक्षीको अवरोधपछि स्थगित गरिएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाह ले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर प्रधानमन्त्रीको अनुपस्थितिबारे जानकारी गराउँदै सभामुखले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई प्रस्ताव पेस गर्न रोस्ट्रममा बोलाएपछि विपक्षी सांसदहरूले विरोध सुरु गरेका थिए ।

त्यसपछि सभामुखले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलपछि बैठक पुनः सञ्चालन भए पनि विपक्षी दलको विरोध कायम रह्यो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफ दिन रुलिङ गर्न माग गरेका थिए । तर सभामुख अर्यालले तत्काल रुलिङ नगर्ने बताउँदै प्रधानमन्त्रीसँग आजै छलफल तय भएकाले संवादपछि मात्रै आगामी कार्यसूचीबारे विपक्षीसँग थप छलफल गर्ने बताएका छन् ।