सुदूरपश्चिम

सुदूरपश्चिममा नयाँ सत्ता समीकरणको चर्चा भएपछि…

२ जेठ, काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको चर्चा फेरि तीव्र बनेसँगै मुख्यमन्त्री कमलबहादुर शाह को पद संकटमा परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारको नेतृत्व परिवर्तन तथा पुनर्गठनबारे छलफल सुरु भएपछि प्रदेश राजनीतिमा नयाँ तरंग सिर्जना भएको हो ।

स्रोतका अनुसार मुख्यमन्त्री शाह हालै काठमाडौं पुगेर भक्तपुरस्थित गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापा सँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले प्रदेश सरकारबारे छिटो निर्णय लिन आग्रह गरेको बताइएको छ ।

एमाले अध्यक्ष ओलीले नेकपासहित तीन दल मिलाएर सरकार अघि बढाउने सम्भावनाबारे छलफल भइरहेको संकेत दिएका छन् भने सभापति थापाले पनि सबै दलबीच संवाद जारी रहेको बताएका छन् ।

यसअघि कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेबीच भएको समझदारीअनुसार सुदूरपश्चिममा कांग्रेस र कोशी प्रदेशमा एमालेले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर अहिले कांग्रेसभित्रै कोशी कांग्रेसलाई दिने र सुदूरपश्चिम एमालेले लिने विकल्पमा छलफल भइरहेको नेताहरू बताउँछन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा लाई प्रदेश सरकारबारे एमालेसहित अन्य दलसँग छलफल गर्ने जिम्मेवारी दिइएको छ । उनले ओलीसँग भेटेर कोशी कांग्रेसलाई र सुदूरपश्चिम एमालेलाई दिने प्रस्ताव राखेको चर्चा छ ।

यद्यपि एमाले अध्यक्ष ओलीले यस विषयमा स्पष्ट निर्णय दिएका छैनन् । एमालेभित्रै केही नेताहरू कोशीका मुख्यमन्त्री हिम्मत कार्की प्रति ओली सन्तुष्ट नरहेको दाबी गर्छन् ।

उता कांग्रेसभित्र पनि मुख्यमन्त्री शाहविरुद्ध असन्तुष्टि कायम रहेको बताइएको छ । केही प्रदेश सांसदहरूले दलको नेता परिवर्तन गरेर शाहलाई हटाउनुपर्ने लबिङ गर्दै आएका छन् । स्रोतका अनुसार आठ जना सांसदले हस्ताक्षरसहित नेतृत्व परिवर्तनको तयारी गरेका थिए, तर पार्टी नेतृत्वको संकेत नपाएपछि प्रक्रिया रोकिएको थियो ।

एमालेभित्र पनि सरकार परिवर्तनको चर्चाले आन्तरिक खिचातानी बढेको छ । सरकारमा रहेका मन्त्रीहरू सत्ता जोगाउने पक्षमा छन् भने बाहिर रहेका नेताहरू नयाँ समीकरण बने मन्त्री बन्ने अपेक्षामा देखिएका छन् ।

राजनीतिक वृत्तमा कांग्रेस, एमाले र नेकपासहितको नयाँ समीकरण बन्न सक्ने चर्चा भए पनि हालसम्म कुनै ठोस सहमति भने भइसकेको छैन । नेताहरूका अनुसार आगामी दुई–तीन दिनभित्र सुदूरपश्चिम सरकारबारे महत्वपूर्ण निर्णय आउनसक्ने सम्भावना छ ।