समाचार

काफल बेच्ने महिलामाथि नगर प्रहरीले गरेको व्यवहारको चौतर्फी आलोचना भएपछि…

६ जेठ, सुर्खेत । वीरेन्द्रनगर को व्यस्त सडकमा मंगलबार साँझ घटेको एउटा घटनाले सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म तरंग पैदा गर्‍यो। डोकोमा काफल बोकेर सडक किनारमा बेचिरहेकी एक महिलामाथि नगर प्रहरीले गरेको व्यवहारको भिडियो भाइरल भएपछि चौतर्फी आलोचना सुरु भयो।

भिडियोमा नगर प्रहरीले काफल बेच्दै हिँडिरहेकी महिलाको डोको खोसेर सडकमै काफल पोखिदिएको देखिन्छ। त्यसपछि प्रहरी टोली गाडीमा गएर बस्छ भने ती महिला सडकमा छरिएका काफल फेरि डालोमा टिप्दै गरेको दृश्यले धेरैलाई भावुक बनायो।

दुर्व्यवहार भोग्ने महिला कालिकोट घर भई हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी धमिला चौलागाईं रहेको खुलेको छ। दैनिक गुजाराका लागि सडकमा काफल बेच्दै आएकी उनी अचानक भएको घटनापछि मानसिक रूपमा आहत बनेकी थिइन्।

घटना सार्वजनिक भएपछि वीरेन्द्रनगर नगरपालिका ले बुधबार धमिलालाई नगरपालिकामा बोलाएर १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ। नगर प्रमुख मोहनमाया ढकाल ले आफ्नै कार्यकक्षमा उनलाई राहत रकम हस्तान्तरण गर्दै नगर प्रहरीको व्यवहारप्रति दुःख व्यक्त गरिन्।

मेयर ढकालका अनुसार उक्त घटना आफूले पनि सामाजिक सञ्जालमार्फत थाहा पाएकी हुन्। उनले घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने बताउँदै फुटपाथ व्यवस्थापनका क्रममा मानवीय संवेदनशीलता आवश्यक हुने स्वीकार गरिन्।

नगरपालिकाले फुटपाथ व्यवसायीहरूका लागि सुरक्षित र निश्चित स्थान छुट्याइएको दाबी गर्दै आगामी दिनमा धमिलालाई व्यवस्थित स्थानबाट व्यापार गर्न आग्रह गरेको छ। साथै कुनै समस्या परे नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

सामाजिक सञ्जालमा भने धेरैले यो घटनालाई गरिब श्रमिकमाथिको अमानवीय व्यवहारका रूपमा टिप्पणी गरेका छन्। काफलका दाना सडकमा छरिँदा केवल फल मात्रै होइन, एक महिलाको श्रम, संघर्ष र सम्मान पनि पोखिएको भन्दै धेरैले नगर प्रहरीको व्यवहारमाथि प्रश्न उठाएका छन्।