समाचार

प्रधानमन्त्रीको अनुपस्थितिमा संसद् अवरुद्ध, बैठक स्थगित

७ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाह संसद्मा अनुपस्थित भएपछि विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

आजको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री उपस्थित नभएपछि सभामुखले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रस्ताव अघि बढाउन समय दिएका थिए ।

त्यसपछि विपक्षी दलहरूले प्रधानमन्त्री लगातार संसद्मा अनुपस्थित रहेको भन्दै विरोध जनाएका थिए । उनीहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन नभएको विषय उठाए ।

विपक्षी र सत्तापक्षबीच संसद्मा सवाल–जवाफ चर्किएपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका हुन् ।