१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले पार्टीभित्र चलिरहेको आन्तरिक किचलो र भागबण्डाको राजनीतिप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्वलाई प्रश्न गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी सत्तामा हुँदा होस् वा प्रतिपक्षमा, सधैं भागबण्डाकै लागि झगडा हुने गरेको र यसले पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन्।
नेता भण्डारीले पार्टीभित्रको वर्तमान अवस्थालाई खुलाचौरमा चलिरहेको भाले जुधाइको संज्ञा दिँदै, लेखेका छन् जनीतिक सुकुम्बासी बनेर पनि खाली कुर्चीको लडाइँ ! भाँचिएको कुर्ची पनि नछोड्ने — टुक्रा-टुक्रा हुँदा पनि भागवण्डा ! भन्दै नेतृत्वको कार्यशैलीप्रति कडा व्यंग्य गरेका छन्।
उनले मेरो र मेरामा धेरै झगडा गर्दा इमान्दार कार्यकर्तालाई मात्र लखेटियो। आखिर को कहाँ पुग्यो ? भन्ने प्रश्न गर्दै पार्टीले निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाएकोमा चिन्ता व्यक्त गरेका छन्।
भण्डारीका अनुसार, पार्टीको यो दुर्दशा विगतको गलत छनोट र व्यक्तिगत महत्त्वाकांक्षाको परिणाम हो।
उनले हिजो प्रजातन्त्रवादी र वामपन्थी शक्ति मात्र सक्रिय रहेकोमा अहिले नयाँ शक्तिहरू सत्तामा आएको सन्दर्भ जोड्दै नेपाली कांग्रेसका लागि अबको बाटो सहज नभएको स्पष्ट पारेका छन्।
ुसडकको भाषण र भेलाले समाधान दिँदैन,ु उनले भनेका छन्।आगामी १५औं महाधिवेशनलाई पार्टी सुधारको महत्वपूर्ण अवसरका रूपमा हेर्दै नेता भण्डारीले स्पष्ट समाधान र साहसिक सुधारसहित खुला रूपमा वैचारिक, संगठनात्मक र नेतृत्व चयनको प्रस्ताव ल्याउनुपर्नेमा जोड दिएका छन्।
उनले समयको माग र चाहना बुझेर, प्रविधिको प्रयोग गर्दै, सबैभन्दा विवेकी बनी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।







