समाचार

बेपत्ता सशस्त्रका असई र युवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

२० जेठ, काठमाडौं ।  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा एक सशस्त्र प्रहरीका असई र एक युवती मृत अवस्थामा फेला परेका छन् । दुवै जना करिब एक महिनादेखि सम्पर्कविहीन रहेका थिए ।

मृत भेटिनेहरूमा पर्साको बहुदरमाई–८ का सशस्त्र प्रहरी बल १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, बुधबार बिहान वन क्षेत्रमा अनुगमनका क्रममा उनीहरूको शव फेला परेको हो । खोजतलासका क्रममा उनीहरू हराइरहेको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय रूपमा अनुसन्धानमा जुटेको थियो ।

प्रहरीका अनुसार, दुवै जना वैशाखको तेस्रो साता देखिनै सम्पर्कमा थिएनन् । प्रारम्भिक अनुसन्धान अनुसार शर्मिला वैशाख १८ गते काभ्रेमा रहेका असई रामलाई भेट्न जाने भन्दै हिँडेकी थिइन् भने असई राम वैशाख १९ गतेबाट बिदामा रहेका थिए ।

परिवारले दुवै जना सम्पर्कविहीन भएपछि छुट्टाछुट्टै रूपमा प्रहरीमा खोजतलासको निवेदन दिएका थिए ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।