समाचार

नेपाल–भारत एजेन्डामा टाइमलाइनसहित काम गर्न तयार छौँ : भारतीय प्रधानमन्त्री मोदी

२० जेठ, काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच रहेका द्विपक्षीय विषयहरूको सूची तयार गरी प्राथमिकताका आधारमा निश्चित समयसीमाभित्र कार्यान्वयन गर्न भारत तयार रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टोलीसँगको भेटमा मोदीले दुई देशबीचका साझा एजेन्डामा परिणाममुखी ढंगले अघि बढ्न प्रतिबद्धता व्यक्त गरेका हुन्।

रास्वपाका विदेश विभाग प्रमुख दीपक बोहोराका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न विषयलाई सूचीबद्ध गरी प्राथमिकता निर्धारण गर्ने र त्यसअनुसार टाइमलाइन बनाएर काम गर्ने विषयमा छलफल भएको थियो।

पाँचदिने भ्रमणका क्रममा लामिछानेले यसअघि भारतका गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि भेटवार्ता गरिसकेका छन्।