ब्रेकिङ न्युज

धवलशमशेर सहित १८३ ले छोडे राप्रपा, दिए सामुहिक राजिनामा

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी छाडेका छन् ।

महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् ।

राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।

आज पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।

विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको विज्ञप्तिमा लेखिएको छ ।

स्वेच्छाचारिताको नियमन गरेर जवाफदेहीता स्थापित गर्ने प्रयासहरू हुँदा नेता कार्यकर्ता माथि निरंकुश शैलीमा कारवाही गरिरएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

पार्टी पत्यिाग गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजसंस्था पूनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भए जबकि संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन ।’

जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सब नामेट पार्ने मनोवृत्ति भएको हुँदा पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा लेखिएको छ ।