सुदूरपश्चिम

टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुँदै, शीर्ष पदाधिकारी सहभागी हुने

२१ जेठ, काठमाण्डौँ । कैलालीको टीकापुरमा यही जेठ २३ र २४ गते अन्तर व्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेशसभाको व्यवस्थापनमा हुने सम्मेलनमा संघीय संसद् र सातै प्रदेशका संसद्का पदाधिकारीहरूको सहभागिता रहनेछ ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीका अनुसार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रदेशसभाका सभामुख–उपसभामुख तथा संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

सम्मेलनमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, संसदीय अभ्यास तथा सभा सञ्चालनलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल गरिनेछ । साथै संघ र प्रदेशबीचका अनुभव आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

दुईदिने सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता सभामुख भण्डारीले गर्नेछन् भने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । उद्घाटन समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुभकामना मन्तव्य दिने कार्यक्रम छ ।

सम्मेलनको समापन आइतबार घोषणापत्र जारी गर्दै गरिनेछ ।