ब्रेकिङ न्युज

व्यंग्यबाट जन्मिएको ‘कक्रोच’ आन्दोलन : भारतीय युवाको आक्रोश अब सञ्जालबाट सडकसम्म

२३ जेठ, काठमाडौँ ।  भारतमा बेरोजगारी, परीक्षा प्रणालीको अव्यवस्था र शिक्षाक्षेत्रमा बढ्दो अविश्वासविरुद्ध युवाहरूको असन्तुष्टि नयाँ स्वरूपमा सार्वजनिक भएको छ । केही साताअघि सामाजिक सञ्जालमा व्यंग्यका रूपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियान अहिले हजारौँ युवालाई सडकमा उतार्ने आन्दोलनमा परिणत भएको छ।

भारतीय सर्वोच्च अदालतका एक वरिष्ठ न्यायाधीशले बेरोजगार युवालाई ‘कक्रोच’ र ‘परजीवी’ जस्ता शब्द प्रयोग गरी टिप्पणी गरेपछि त्यसको विरोधस्वरूप अमेरिकामा अध्ययनरत भारतीय युवा अभिजित दीपकेले सामाजिक सञ्जालमार्फत एउटा अभियान सुरु गरेका थिए। व्यंग्यात्मक नाम दिइएको उक्त अभियानले छोटो समयमै लाखौँ समर्थक र करोडौँ सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान आकर्षित गर्‍यो।

सुरुमा केवल अनलाइन असन्तुष्टिको अभिव्यक्तिका रूपमा देखिएको अभियान शिक्षा प्रणालीप्रतिको व्यापक असन्तोषसँग जोडिँदै गयो। विशेषगरी विभिन्न राष्ट्रियस्तरका परीक्षामा पटक–पटक प्रश्नपत्र चुहावट, व्यवस्थापकीय कमजोरी तथा युवाहरूको भविष्यसँग जोडिएका विषयले आन्दोलनलाई थप ऊर्जा प्रदान गर्‍यो।

यसै सन्दर्भमा शुक्रबार नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा आयोजित प्रदर्शनमा भारतका विभिन्न राज्यबाट विद्यार्थी, अभिभावक, युवा तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी भए। प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा पारदर्शिता, निष्पक्ष परीक्षा प्रणाली र उत्तरदायी शासनको माग गरेका थिए।

प्रदर्शनमा सहभागी धेरै युवाले आफूहरू कुनै राजनीतिक दलको झण्डामुनि नभई आफ्ना भविष्य र अवसरको सुरक्षाका लागि सडकमा आएको बताएका थिए। उनीहरूको मुख्य चिन्ता परीक्षा प्रणालीप्रतिको विश्वास गुम्दै जानु, प्रतिस्पर्धी परीक्षामा बारम्बार देखिने अनियमितता तथा सरकारी निकायको कमजोर जवाफदेहिता थियो।

आन्दोलनलाई लद्दाखका अभियन्ता सोनाम वाङचुक, अभिनेता प्रकाश राज, युट्युबर ध्रुव राठी लगायतका चर्चित व्यक्तित्वहरूले पनि समर्थन जनाएका छन्। केही विपक्षी राजनीतिक नेताले समेत युवाहरूको आवाजलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका छन्।

जन्तर–मन्तरमा देखिएको दृश्य केवल परीक्षा प्रणालीको विरोध मात्र थिएन। प्रदर्शनका क्रममा उठेका नाराले युवापुस्ताको बदलिँदो राजनीतिक चेतनालाई पनि संकेत गरिरहेका थिए। धार्मिक ध्रुवीकरण, जातीय विभाजन र परम्परागत राजनीतिक मुद्दाभन्दा रोजगारी, शिक्षा, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनुपर्ने आवाज प्रदर्शनमा स्पष्ट रूपमा सुनिएको थियो।

प्रदर्शनमा सहभागीहरू कक्रोचको प्रतीकात्मक मास्क लगाएर उपस्थित भएका थिए। उनीहरूले आफूहरूलाई अपमानजनक रूपमा प्रयोग गरिएको शब्दलाई नै प्रतिरोधको प्रतीक बनाएको बताएका थिए। आन्दोलनका संयोजक दीपकेले पनि युवाहरूको आवाज दबाएर समस्याको समाधान नहुने भन्दै राज्यलाई वास्तविक मुद्दामा केन्द्रित हुन आग्रह गरेका थिए।

विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालमा जन्मिएको यो अभियानले भारतीय युवाहरूमा बढ्दो निराशा र असन्तुष्टिलाई संगठित रूपमा अभिव्यक्त गर्ने माध्यम प्रदान गरेको छ। विगत केही वर्षयता सरकारी भर्ती प्रक्रिया, प्रतिस्पर्धी परीक्षा तथा शिक्षासम्बन्धी विभिन्न विवादले युवाहरूमा अविश्वास बढ्दै गएको सन्दर्भमा ‘कक्रोच आन्दोलन’ त्यसैको नयाँ अभिव्यक्ति बनेको देखिन्छ।

यद्यपि, आन्दोलनको दीर्घकालीन प्रभाव कति हुन्छ भन्ने प्रश्न अझै खुला छ। सामाजिक सञ्जालमा प्राप्त लोकप्रियतालाई निरन्तर जनदबाबमा रूपान्तरण गर्न सकिन्छ वा सकिँदैन भन्ने चुनौती आयोजकहरूका अगाडि छ। तर एउटा कुरा भने स्पष्ट देखिएको छ,भारतीय युवाहरूको असन्तुष्टि अब डिजिटल संसारमा सीमित छैन, त्यो सडकसम्म आइपुगेको छ।

यस अर्थमा ‘कक्रोच’ केवल एउटा व्यंग्यात्मक शब्द रहेन; त्यो वर्तमान प्रणालीप्रति असन्तुष्ट युवाहरूको प्रतिरोध, प्रश्न र परिवर्तनको आकांक्षाको प्रतीक बनेको छ।