ब्रेकिङ न्युज

कुलमानको प्रस्ताव : दरबार हत्याकाण्डसंगै मदन भण्डारी मृत्युको पनि छानबिन गरौँ

२७ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसंगै मदन भण्डारीको मृत्युको पनि छानविन गर्नुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने स्पष्ट पारेका छन्।

अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे उठेका शङ्काको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन् । उनले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनाहरूका साथै अन्य घटनाहरुको पनि निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै उनले सरकारले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए।

साथै उनले टीकापुर घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसंग आग्रह गरेका छन्।

अध्यक्ष घिसिङले सहकारी ठगी प्रकरणको पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताए। सहकारीसम्बन्धी विभिन्न तहका छानबिन भएपनि पीडितहरूले अहिलेसम्म बचत रकम फिर्ता नपाएको उनको भनाई छ।

उनले पीडितहरूलाई सरकारी कोषबाट नभई ठगीमा संलग्न व्यक्तिहरूबाट रकम असुल गरी फिर्ता गरिनुपर्ने बताए। उनले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति पनि आपत्तिजनक भएको बताएका छन्।