ब्रेकिङ न्युज

‘मेरो पसल लुटियो’ भन्ने साहु नै प्रहरीको फन्दामा कसरी परे ?

२७ जेठ, कालीकोट । बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको सुन चोरी प्रकरणमा नयाँ तथ्य खुलेको छ। प्रहरी अनुसन्धानबाट पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विककै योजनामा चोरीको नाटक रचिएको पुष्टि भएको छ।

सञ्चालकले सुरुआतमा करिब ७० तोला सुनसहित ठूलो परिमाणमा गहना चोरी भएको भन्दै उजुरी दिएका थिए। तर अनुसन्धानका क्रममा चोरी भएको भनिएको केही सुन र चाँदी सञ्चालककै घरबाट बरामद भयो। घटनाको समयमा आफू पोखरामा रहेको दाबी गरेका सेन्चुरी बुटवलमै रहेको समेत खुलेको प्रहरीले जनाएको छ।

बीमा रकम दाबी गर्न र अरूले राखेका सुन तथा पैसा फिर्ता गर्न नपर्ने उद्देश्यले योजनाबद्ध रूपमा चोरीको नाटक गरिएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ। दुवै जनालाई पक्राउ गरी आपराधिक विश्वासघात मुद्दामा थप अनुसन्धान भइरहेको छ।