२८ जेठ, काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आफूविरुद्ध फैलाइँदै आएका भ्रष्टाचार, अकुत सम्पत्ति र सम्पत्ति लुकाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आरोपको राजनीति नभई प्रमाणको आधारमा कुरा गर्न आग्रह गरेका हुन्।
मेयर पौडेलले भदौ २३–२४ को ‘जेन–जि विद्रोह’का क्रममा आफ्नो घरमा आगजनी हुनुअघि नै सामाजिक सञ्जाल, फेक मिडिया र नक्कली आइडीमार्फत आफ्नो चरित्रहत्या गर्ने अभियान चलाइएको दाबी गरेका छन्। उनले केही समूहले अझै पनि आफूविरुद्ध झुटा आरोप र भ्रम फैलाइरहेको आरोप लगाए।
उनका अनुसार आफूले सरकारले गठन गरेको छानबिन समितिमा सम्पत्ति विवरण बुझाइसकेका छन्। “अब खेल आरोपको होइन, प्रमाणको हो,” भन्दै उनले आफूसँग सम्बन्धित कुनै पनि गैरकानुनी सम्पत्ति, भ्रष्टाचार वा राज्यलाई गलत सूचना दिएको प्रमाण भए कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
मेयर पौडेलले केही व्यक्तिहरूले आफ्नो नाम जोडेर सीआईबीमार्फत छानबिन गराउने धम्की दिने, आफन्त र साथीभाइलाई फोन गर्ने तथा भेट्न बोलाएर दबाब सिर्जना गर्ने प्रयास गरिरहेको समेत बताएका छन्।
उनले सांसद अशोक चौधरीलाई लक्षित गर्दै राज्य र कानुन कुनै एक व्यक्तिको मात्र नभएको उल्लेख गरे। “प्रमाणित गर वा सांसद पदको गरिमा कायम राख,” भन्ने सन्देश दिँदै उनले आधारहीन आरोप र राजनीतिक प्रतिशोधले सरकार नै कमजोर र आलोचित बन्ने तर्क गरेका छन्।
पौडेलले यदि आफूले सम्पत्ति लुकाएको, गैरकानुनी रूपमा आर्जन गरेको वा राज्यलाई गलत विवरण दिएको प्रमाणित भए कानुनअनुसार जुनसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारे। तर प्रमाणविनाको आरोप, ट्रोल र चरित्रहत्याको राजनीति धेरै दिन नटिक्ने उनको भनाइ छ।
लोकतन्त्र, विधिको शासन र कानुनी प्रक्रियामा विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक चरित्र सधैं जनताको परीक्षणका लागि खुला रहेको बताएका छन्।







