२९ जेठ, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले माट्रिका आँखा केन्द्रसँग सहकार्य गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित धनुषा र महोत्तरी जिल्लाका १०० जना मोतिबिन्दु पीडितको निःशुल्क शल्यक्रिया कार्यक्रमका लागि ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ।
उक्त सहयोगबाट ग्रामीण क्षेत्रमा बसोबास गर्ने मोतिबिन्दुका बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। कार्यक्रम जनकपुरमा सञ्चालन हुने जनाइएको छ।
माट्रिका आँखा केन्द्रले विगतदेखि देशका विभिन्न जिल्लामा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। केन्द्रको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
आईएमई लाइफ इन्स्योरेन्सका उपकार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, माट्रिका आँखा केन्द्रका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रमले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए।
आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले यस्ता कार्यक्रममार्फत सामाजिक विकास र नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ।





