२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संसदमा अर्थ मन्त्रीको अभिव्यक्ति माथी आपत्ति जनाएको छ।
प्रश्न सोध्ने सांसद्लाई मन्त्रीबाट अपमान गर्ने कार्य भएको भन्दै यसलाई संसदीय मर्यादाकै अपमानको रूपमा व्याख्या गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटको करका दर हेरफेर र करको दर हेरफेरको सूचना चुहावटको विषयमा प्रश्न गर्ने सांसदलाई विगत नियाल्न सुझाएका थिए ।
यस्तो शैलीमा प्रश्न उठाउँदै कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने, ‘प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो ।’
संसद् धम्की दिने थलो नभएको र तर्क तथा विमर्श गर्ने थलो भएको उनले बताए । यसमा गम्भीर बन्नुपर्ने उनको आग्रह छ ।
अन्य विपक्षी दलहरूले समेत यो विषयमा अर्थमन्त्रीको आलोचना गरेका छन् ।





