ब्रेकिङ न्युज

निर्णयकर्ता नहुँदा देशकै ठूलो क्यान्सर अस्पताल अस्तव्यस्त

३१ जेठ, चितवन । देशकै प्रमुख क्यान्सर उपचार केन्द्र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्ष नियुक्तिमा भएको ढिलाइका कारण गम्भीर प्रशासनिक र आर्थिक समस्यामा परेको छ। अध्यक्ष पद रिक्त रहेपछि अस्पतालका नीतिगत निर्णय प्रभावित भएका छन् भने स्वास्थ्य सेवा सञ्चालनमा समेत प्रत्यक्ष असर देखिन थालेको छ।

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले पछिल्लो दुई महिनादेखि तलब–भत्ता पाएका छैनन्। खरिद गरिएका औषधि तथा स्वास्थ्य सामग्रीको भुक्तानी रोकिएको छ भने अवकाशप्राप्त कर्मचारीले पाउनुपर्ने उपदानसमेत निकासा हुन सकेको छैन।

अध्यक्षको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष छनोट प्रक्रिया सुरु गरे पनि सर्टलिस्ट सार्वजनिक गर्न नै एक महिनाभन्दा बढी समय लागेको छ। हाल सात जना उम्मेदवारलाई संस्थागत सुधारसम्बन्धी ‘सोचपत्र’ पेश गर्न भनिएको छ, तर अन्तर्वार्ता र नियुक्तिको समय भने अझै टुंगो लागेको छैन।

अस्पताल हाल निमित्त कार्यकारी निर्देशकको नेतृत्वमा सञ्चालन भइरहेको छ। निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्ष नहुँदा आवश्यक नीतिगत निर्णय लिन र अस्पतालको आम्दानी खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।

सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको छ। पहिले दैनिक करिब ८५० बिरामी आउने अस्पतालमा अहिले दैनिक १,२०० भन्दा बढी बिरामी पुग्न थालेका छन्। सीमित जनशक्ति र पूर्वाधारका कारण सेवा प्रवाह प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ।