ब्रेकिङ न्युज

कांग्रेसको कमजोरीको दोष कसलाई? मोहन बस्नेतले लिए गगन थापाको नाम

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वमाथि कडा असन्तुष्टि व्यक्त गर्दै कांग्रेस कमजोर बन्दै जानुको प्रमुख जिम्मेवार गगन थापा रहेको आरोप लगाएका छन्।

विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टीभित्र पुराना र योगदान दिएका नेताहरूलाई योजनाबद्ध रूपमा किनारा लगाउने प्रयास भइरहेको दाबी गरे। उनले क्रियाशील सदस्यता नवीकरण प्रक्रियामै पक्षपात गरिएको आरोप लगाउँदै वरिष्ठ नेताहरूलाई समेत सदस्यताबाट वञ्चित गराउने प्रयास भएको बताए।

बस्नेतका अनुसार लामो समयदेखि पार्टीमा योगदान दिएका नेताहरूको सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको छ भने पर्याप्त आधार र प्रक्रिया नपुगेका नयाँ व्यक्तिलाई सदस्यता वितरण गरिएको छ। उनले यसलाई कांग्रेसलाई कमजोर बनाउने योजनाबद्ध प्रयासको संज्ञा दिए।

यही क्रममा बस्नेतले पार्टीको वर्तमान अवस्थाका लागि गगन थापालाई मुख्य जिम्मेवार ठहर गर्दै उनको नेतृत्वबाट कांग्रेस एकताबद्ध हुने अपेक्षा गर्न नसकिने टिप्पणी गरे।

उनले पार्टीको अस्तित्व र संगठन जोगाउन सबै नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।