३१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र त्यसबाट आएको नतिजा पूर्ण रूपमा बदर गरेको छ। प्रक्रियागत त्रुटि र विधानविपरीत निर्वाचन सञ्चालन भएको प्रारम्भिक निष्कर्षपछि आयोगले यस्तो निर्णय गरेको हो।
आइतबार जारी विज्ञप्तिमा अधिवेशनका क्रममा अपनाइएको निर्वाचन प्रक्रियाविरुद्ध उम्मेदवार तथा पार्टी सदस्यहरूले प्रमाणसहित उजुरी दर्ता गराएको उल्लेख गरिएको छ। उजुरीमाथि गरिएको प्रारम्भिक अध्ययनमा लोकतान्त्रिक निर्वाचनका आधारभूत विधि, प्रक्रिया र मापदण्ड पालना नभएको देखिएको आयोगले जनाएको छ।
आयोगका अनुसार जिल्ला तहका नेताहरूले समेत निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदा जनाउँदै विधान र कार्यविधिविपरीत निर्वाचन सम्पन्न गरिएको पाइएकाले निर्वाचनको सम्पूर्ण प्रक्रिया र नतिजा बदर गरिएको हो।
गत २५ जेठमा सम्पन्न जिल्ला अधिवेशनबाट कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए। उनले ३३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत पाएका थिए। अब कैलाली जिल्ला अधिवेशन सम्बन्धी आगामी प्रक्रिया के हुने भन्नेबारे पार्टीले पछि निर्णय गर्ने अपेक्षा गरिएको छ।





