३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि शहरको सौन्दर्य र सार्वजनिक सुरक्षामा असर पुर्याउने विज्ञापन सामग्रीमाथि पूर्ण प्रतिबन्ध लगाउने नीति अघि सारेको छ।
नगरसभाको १९औँ अधिवेशनमा कार्यबाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अव्यवस्थित विज्ञापन नियन्त्रणलाई प्राथमिकतामा राखिएको हो। महानगरका अनुसार शहरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यले यस्तो नीति लागू गर्न लागिएको हो।
नीति तथा कार्यक्रममा सुशासन, पारदर्शिता र डिजिटल सेवाको विस्तारलाई पनि जोड दिइएको छ। महानगरले आफ्ना सूचना तथा गतिविधि आधिकारिक वेबसाइट, डिजिटल प्लेटफर्म र मल्टिमिडिया च्यानलमार्फत सार्वजनिक गर्ने तथा एकद्वार सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ।
यस्तै, विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणाअनुसार इन्टर्नसिप, फेलोसिप र पार्ट–टाइम कार्यक्रममार्फत महानगरका काममा सहभागी गराउने योजना पनि अघि सारिएको छ।
स्थानीय विवाद समाधानमा मेलमिलापलाई प्राथमिकता दिने, महानगर प्रहरीको परिचालनमार्फत शहरी सुव्यवस्थापन सुदृढ गर्ने तथा नेपाल प्रहरीसहित सम्बन्धित निकायसँग समन्वय बढाउने नीति पनि समेटिएको छ।
त्यसैगरी, नयाँसडक क्षेत्रमा देखिएको पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित जग्गामा बहुतले पार्किङ निर्माण गर्न नेपाल सरकारसँग पहल गर्ने योजना पनि महानगरले सार्वजनिक गरेको छ।






