ब्रेकिङ न्युज

‘संविधानको मर्म बिर्सँदै सरकार ?’ पापडले उठायो गम्भीर प्रश्न

३ असार, काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) मा आबद्ध छ वटा प्रमुख पेसागत संस्थाले सरकारको पछिल्लो शासन शैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य, संविधान र विधिको शासनको सम्मान गर्न आग्रह गरेका छन्।

बुधबार जारी संयुक्त विज्ञप्तिमा पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण र विधिको शासन राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि सरकारका पछिल्ला गतिविधिले ती मूल्यहरू कमजोर बनाउने संकेत देखिएको जनाएको छ।

सञ्जालले लोकतन्त्र केवल निर्वाचनबाट बनेको बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलन, संस्थागत उत्तरदायित्व, न्यायपालिकाको स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र नागरिक स्वतन्त्रतामा आधारित प्रणाली भएको स्मरण गराउँदै सरकारलाई यी आधारभूत सिद्धान्त नबिर्सन आग्रह गरेको छ।

विज्ञप्तिमा सुकुमवासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप हुने संकेत, संसद्को भूमिका कमजोर बनाउने अभ्यास, सञ्चारमाध्यममाथि आर्थिक दबाब, नागरिक अधिकार संकुचित गर्ने प्रयास तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

त्यसैगरी, ट्रेड युनियन तथा पेसागत संस्थामाथिको नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप, शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत अन्योल तथा नागरिकको रोजगारी, व्यवसाय र सम्मानजनक जीवनमा असर पर्ने निर्णयप्रति पनि पापडले आपत्ति जनाएको छ।

पापडले सरकारलाई मानवअधिकार, संविधानको मर्म, अन्तर्राष्ट्रिय कानुन र लोकतान्त्रिक मूल्यमान्यताको पूर्ण सम्मान गर्दै राज्य सञ्चालन गर्न आग्रह गरेको छ। साथै लोकतन्त्र र नागरिक अधिकारको संरक्षणका लागि पेसागत संस्था, सञ्चार क्षेत्र, शैक्षिक समुदाय र नागरिक समाजलाई एकजुट हुन आह्वान पनि गरेको छ।

यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले असार ५ गते माइतीघरमा आयोजना गर्ने विरोध र्‍यालीप्रति पापडले ऐक्यबद्धता जनाउँदै सबैलाई सहभागी हुन आग्रह गरेको छ।