३ असार, काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहस सम्पन्न भएपछि दुवै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने आदेश दिएको हो।
यसअघि प्रहरीले दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उनीहरूविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
अदालतको आदेशसँगै दुवै जनालाई अब मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म पुर्पक्षका लागि थुनामा राखिनेछ।





