बैंकिङ

७ वर्षपछि परिपक्व भयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र, लगानीकर्ताले साँवा–ब्याज पाउने

४ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सात वर्षअघि जारी गरेको नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर’ परिपक्व भएको छ। यससँगै उक्त ऋणपत्रमा लगानी गरेका लगानीकर्ताले अब सञ्चित ब्याजसहित साँवा रकम फिर्ता पाउने भएका छन्।

साविक नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र जारी गरेको थियो। उक्त ऋणपत्रको अवधि असार ३ गते पूरा भएसँगै यो औपचारिक रूपमा परिपक्व भएको हो।

ऋणपत्र परिपक्व भएसँगै लगानीकर्तालाई पाकेको ब्याजसहित मूलधन फिर्ता गरिने बैंकले जनाएको छ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेको उक्त ऋणपत्र परिपक्व भएसँगै असार ३ गतेपछि दोस्रो बजारबाट समेत सूचीकरण खारेज गरिएको छ।

बैंकले सम्बन्धित ऋणपत्रधनीलाई तोकिएको प्रक्रिया अनुसार साँवा तथा ब्याज भुक्तानी उपलब्ध गराउने जनाएको छ।