४ असार, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान र चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले चिया क्षेत्रमा देखिएको संकटप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको हो।
समिति सभापति कृष्णप्रसाद पौडेलले चिया किसान र श्रमिकले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको उल्लेख गर्दै उनीहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिए। उनले चिया क्षेत्रलाई मात्रै नभई अलैँची, सुपारी, बेसार, अदुवा र कफीजस्ता नगदेबाली उत्पादन गर्ने किसानको हित संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए।
उनका अनुसार नगदेबाली उत्पादक किसानले उचित मूल्य र भरपर्दो बजार नपाएकाले मूल्य निर्धारण र बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। त्यसका लागि यही संसद् अधिवेशनभित्र कानुन ल्याउन सरकारसँग आग्रह गरिएको उनले बताए।
यता चिया निर्यातमा देखिएको समस्याका कारण इलामसहित देशभरका चिया उद्योगीहरूले लगातार चार दिनदेखि उद्योग सञ्चालन बन्द गरेका छन्। समितिले यस अवस्थाले किसान, श्रमिक र समग्र चिया उद्योगमा नकारात्मक प्रभाव पारेको भन्दै समस्या समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ।






