ब्रेकिङ न्युज

कांग्रेसको आरोप : सिंहदरबारभित्र अदृश्य गिरोहको जङ्गलीराज चल्यो

५ असार, काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र अदृश्य गिरोहको जङ्गलीराज चलेको आरोप लगाएको छ।

सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी राज चलिरहेको आरोप लगाएका हुन्।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै सिंहदरबारभित्र ‘जङ्गलीराज’ चलाउन खोजिएको आरोप लगाए।

उनले अख्तियारका अधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ घण्टासम्म राखेर दबाब दिइएको भन्दै आपत्ति जनाए। उनले भने, ‘अख्तियारका अधिकारीहरूलाई ९ घण्टासम्म राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ, यो विधिको शासन हो कि जङ्गलीराज?’

अख्तियारको काम सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमा ‘चेक एण्ड ब्यालेन्स’ कायम गर्ने बताउँदै उनले भने, ‘अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, यो संवैधानिक अङ्ग हो।’

भ्रष्टाचारका घटनामा कांग्रेसको नेता या पूर्व प्रधानमन्त्री वा वर्तमान पदाधिकारी जो कोहि भएपनि परिणाममा पुग्ने प्रक्रिया विधिसम्मत र कानुन बमोजिम हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री संसद्को सामना गर्न डराएको आरोप लगाउँदै उनले प्रधानमन्त्री बजेट र सीमाको विषयबाट भाग्नु भनेको सिङ्गो देशका नागरिकलाई हेप्नु रहेको बताए ।