५ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको संगठित अपराधको कसुर फिर्ता गरेको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार उनीविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जोडिएको संगठित अपराध कसुरलाई फिर्ता गर्ने अनुमति दिएको हो।
यस्तै उनको सहकारी ठगीको कसुर भने कायम नै राखिएको छ।
अभियोग संशोधन गर्दा इजलासले पीडितलाई क्षतिपूर्ति हुने कुरालाई आधार मानेको छ। यसरी अदालतले अभिभावकीय दायित्व निर्वाह गरी मुद्दा संशोधन गरेको आदेशमा उल्लेख छ।
‘…ऐन समेतले पीडितमुखी न्यायको अवधारणालाई स्वीकार गरेको परिप्रेक्ष्यमा पीडितलाई क्षतिपूर्ति सहितको न्यायका लागि बाधकका रूपमा रहने लामो फौजदारी प्रक्रिया, कठोर अभियोग एवं मिलापत्रका लागि अवरोध हुने अवस्थामा फौजदारी न्यायशास्त्र, अभियोजनको स्वायत्तता, पीडितको अधिकार र सार्वजनिक हितबिचको सन्तुलनका लागि अदालतले अभिभावकीय दायित्व निर्वाह गर्नुपर्ने पनि हुन्छ,’ आदेशमा भनिएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिएपछि आज उक्त पेसी चढेको हो।
यसअघि लामिछानेविरूद्ध कास्की जिल्ला अदालत, पर्सा जिल्ला अदालतबाट पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता भएको छ ।





